काठमाडौँ । राष्ट्रियसभामा खाली हुने १९ सिटको बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत सत्तारुढ दलहरू सहभागी थिए ।
दलहरुले सिट धेरै मागेपछि बैठक बिना निष्कर्ष सकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। जनमतका आधारमा राष्ट्रियसभाको सिट बाँडफाँड गर्ने तयारी भइरहेको भए पनि दलहरुबीच मत नमिलेको उनले बताए ।
कांग्रेसले १०, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले कम्तीमा ३/३ सिट दावी गर्दै आएका छन् । क्लस्टरका आधारमा दलहरूले सिट बाँडफाँड गर्ने तयारी गरेका थिए ।
राष्ट्रियसभाको उम्मेदवारका लागि कांग्रेसबाट डेढ सय र माओवादीबाट दुई सय जनाको नाम सिफारिस भएको छ। दलहरूले बढी सिट दावी गर्दा बाँडफाँडमा ढिलाइ भएको हो । आज बिहान बसेको गठबन्धन बैठकमा साझा उम्मेदवार उठाउने निर्णय भएको थियो ।
गठबन्धन र एमालेबीच सहकार्य गर्ने प्रयास असफल भएपछि गठबन्धन र एमालेले छुट्टाछुट्टै उम्मेदवार बनाउने तयारी गरेका छन् ।
माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका रहेको छ ।


