राष्ट्रिय सभा निर्वाचनमा एमालेले सबै सिटमा उम्मेदवारी दिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेका विभिन्न क्लस्टरका १९ वटै सिटमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि पार्टी महासचिव शङ्कर पोख्रेलले जानकारी दिए ।

बैठकमा पार्टीको प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका उम्मेदवारहरूका बारेमा समेत छलफल भए पनि अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको महासचिव पोख्रेलले बताए ।

यस्तै आजको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय पनि गरेको छ । बैठकले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले बताए ।

बैठकले नेपाल र भारत बीचको संयुक्त आयोगको हिजो सम्पन्न बैठकका निर्णयबारे सरकारसँग जानकारी माग्ने तथा कूटनीतिक क्षेत्रमा दीर्घकालीन महत्वका सन्धि सम्झौता गर्दा प्रतिपक्षीलाई समेत विश्वासमा लिन सरकारलाई सचेत गराउने निर्णय गरेको महासचिव पोख्रेलले बताए ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस