काठमाडौं। इरानी जनरल कासिम सुलेमानीको चौथो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका मानिसहरुका बीच दुई बम बिष्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ ।
सुलेमानीको अमेरिकाले सन् २०२० मा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । सुलेमानीको चिहान नजिकै भएको विष्फोटमा ठूलो मानवीय क्षति भएको हो । केरमान सहरको साहेब अल–जमान मस्जिद नजिकैको जुलुसमा विस्फोट भएको थियो ।
घटनामा सय भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर आतंकवादीले विष्फोट गराएको आशंका गरिएको छ ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आतंकवादी आक्रमणलाई कठोर जवाफ दिइने प्रतिवद्धता जनाएका छन् । यो घटनालाई ४२ वर्षमा इरानमा भएको सबैभन्दा घातक आक्रमणका रुपमा हेरिएको छ ।
प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार


