तुलसीपुर । वारीपारी घनावस्ती । बिचमै छ पातुखोला । खोलाको बिच भागमै किताब कापी लिएर पढ्न बसे विद्यार्थी । यो नत कुनै चलचित्रको छायाँकन थियो नत विद्यार्थीलाई कक्षा कोठा अभाव भएर खोलामा पढ्न गएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका विद्यार्थी पातुखोलामा पढ्न गएका हुन् ।

कक्षा ७ पढ्ने गौरब भुषालले खोलामै आएर पढ्न पाउँदा सजिलो गरी बुझ्न पाएको बताए । ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोगका बारेमा खोलामै आएर पढ्न पाउँदा बुझ्न पाएका छौँ ।’ उनले भने ‘खोलामै आएर पढ्न पाउँदा खोलाको सरंक्षण गर्नुपर्ने कुरा सिकेको छु, यसबाट धेरै फाइदाहरु रहेछन् ।’

यस्तै कक्षा ७ मा पढ्ने अन्जली नेपालीले कक्षामा वातावरणको संरक्षण राम्रोसँग भएको छैन भन्ने सरले पढाउने गर्नुभएको तर आज खोलामा आएर पढ्दाखेरी वास्तविकता बुझ्न पाएको बताइन् । ‘सरले कक्षा कोठामा पढाउँदा खेरी होला तो भन्ने लाग्थ्यो, सत्य कुरा फिल्डमै आउँदा झन् धेरै बुझ्ने मौका पाएको छु ।’
विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यालयले विषयवस्तु अनुसार फिल्डमै गएर पढाउन थालेको बताए । ‘विषय अनुसार फिल्डमै गएर पढाउने सायद नेपालमा हामी नै पहिलो हौँ।’ उनले भने ‘विद्यार्थीलाई किताबी ज्ञान बन्द कोठाबाट मात्रै दिनुभन्दा विषयवस्तु अनुसार फिल्डमै गएर पढाउँदा विद्यार्थीले सहजरुपमा बुझ्ने अपेक्षा छ ।

पाठ्यवस्तु अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमको बुधबार औपचारिकरुपमा शुरुवात गरेको हो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष भण्डारीले विद्याथीलाई विषय अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमले विद्यार्थीले बाहिरी कुराको ज्ञान सजिलोसंग हासिल गर्ने बताए । ‘पाठमा भएका कुरा कक्षाकोठामा मात्रै सिकाउँदा प्रभावकारी हुँदैन् ।’ उनले भने ‘पाठ अनुसार कक्षा फिल्डमै पढाउँदा निकै प्रभावकारी हुन्छ ।’ उनले वातावरणको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई मोबाईल चलाउनेमात्रै नभएर मोबाईलमा विश्व समुदायमा भएका कुराको बारेमा बुझ्न आग्रह गरे ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले विद्यार्थीलाई व्यवहारिकरुपमा ज्ञान सिकाउनमा सगरमाथा स्कुलको भूमिका प्रभावकारी बन्दै गएको बताए । विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले विद्यार्थीलाई पाठमा भएका कुरालाई वास्तविकरुपमा बुझाउनका लागि फिल्डमै गएर पढाउन कार्यको शुभारम्भ गरेको बताए । उनले यस कामलाई निरन्तरता दिने बताए ।




