दाङसहित तराईका थारुबस्तीमा माघको चहलपहल

दाङ । यतिबेला थारु बस्तीमा माघको चहलपहल सुरु भएको छ । दाङसहित पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा यो पर्व मनाइन्छ । थारुहरुले पुसको दोस्रो सातादेखि माघको लागि तयारी सुरु गर्ने गर्दछन् ।

उनीहरुले गाउँमा दुना टपरी खुट्ने, ढिक्री र अनदीको रोटी बनाउन चालम पिस्ने, ढुनी बाल्नको लागि वनदेखि दाउरा ल्याउने, पाहुनालाई स्वागत गर्नको लागि जाँड, रक्सी बनाउने गर्ने गर्दछन् । बजारदेखि लत्ताकपडा किनमेल गर्ने, तरुल गन्जी खन्ने लगायतका काम भइरहेको तुलसीपुर–१९ की आरती चौधरीको भनाइ छ ।

माघलाई थारु जातिले नयाँवर्षको रूपमा मनाउँदै आएका छन् । माघ १ गते घरका सबै सदस्य जम्मा भइ स्वादिष्ट भोजनसँगै रमाउने गर्दछन् साथै बर्षदिन गर्ने कामको योजना बनाउने, अन्नपातको लेखाजोखा गर्ने, कामको जिम्मेवारी बाँडफाट गर्ने तथा अलग हुन चाहने दाइभाइलाई स्वीकृति दिने गर्दछन् ।

‘जीटा मर्ना दिन’ भनेर चिनिने पुसको अन्तिम दिन थारुहरुले सँगुर काट्ने, ढिक्री बनाउने र यसै रात महटावा चुन्ने र महटावाको घरमा गाउँभरिका सबै भेला भई रातीभरि आगो ताप्दै ढुमरु गीत गाउने र आगोको ढुनी जगाउने परम्परा थारु समुदायमा छ ।

उनीहरु माघ १ गते बिहानै नजिकको नदी, खोला र ताल तलैयामा नुहाइ घर फर्केपछि चामल, नुन र मासको दाल ‘निश्राउ’ दाजुभाईले छुट्याएर दिदिबहिनीलाई दिने परम्परा छ ।

माघमा अशंबण्डा गर्ने छोरी, छोरीको बिवाह तय गरिदिने, अधिया लगाउन जग्गा जमिन थाम्ने, कुलापानीको चौकिदार राख्ने लागयतका जिम्मेवारी यसै दिन दिइने थारु अगुवा मनिराम चौधरीले बताए । उनकाअनुसार महटावालगायत घरका अग्रजहरुसँग आशिर्वाद लिने र दिनभरी माघ मनाइ साँझ रमाइलोका लागि नाचगान गर्ने गरिन्छ ।

पहिले थारु समुदायको संस्कृति झल्कने नाच नाच्दथे आभोलि त डिजे तथा साउण्ड सिस्टममा नाच्ने भएकाले थारुहरुको संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता लागेको उनले बताए ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस