एचआर मिडिया हाउसद्वारा न्यानो कपडा वितरण

दाङ, ३ पौष । एचआर मिडिया हाउस तुलसीपुर दाङले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार दाङको बबई गाउँपालिका वडा नं. ७ मलईमा रहेका देउती माध्यमिक विद्यालयका ५० जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

मिडिया हाउसका प्रबन्धक एचआर मगरको अध्यक्षतामा तथा मिडिया हाउसका सल्लाहकार विकास डाँगीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बूढाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले जाडो समयमा विकट ठाउँमा आएर साना बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेकोप्रति धन्यवाद दिंदै दाङकै विकट क्षेत्र भएको विद्यालयको पूर्वाधारमा कमी भएको बताए । उनले भने ‘विद्यालयका भवनहरु जीर्ण भएकोले जाडोयाममा पनि बाहिर गर्मी एवं वर्षायाममा पनि बाहिर बसे पढ्न बत्तय भएका छन् ।’

बुढाले विद्यालयमा आर्थिक अवस्था निम्न भएका परिवारका छोराछोरीहरू अध्ययन गर्दै आएको भन्दै न्यानो कपडा वितरणले उनीहरूलाई धेरै राहत मिलेको समेत बताए । उनले भने,‘ सबै कुरामा पछाडि परेको ठाउँ भनेको मलई नै हो । यहाँ नेताहरू भोट माग्न मात्र आउने गर्दछन् । तर, यहाँको बारेमा कसैले सोचेको छैन् । आज एउटा मिडियाले हामीलाई सम्झेर आएको छ । हामी धेरै खुशी भएका छौँ । हाम्रा विद्यार्थीहरूले यो जाडो समयमा न्यानो कपडा पाएका छन् ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका विद्यालयका प्रधानाध्यापक रत्न केसीले यो विद्यालय दुरदराजको क्षेत्रमा भएकोले आफ्नो गन्तव्यमा पुग्न कठिनाइ भएको बताए । ‘विद्यालयमा पुग्ने सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ जसले गर्दा विद्यार्थीलाई शिक्षा हाँसिल गर्न गाह्रो भएको छ ।’ उनले सबै कुरामा विकट क्षेत्र मानिने ठाउँमा रहेको विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा दिएको भन्दै खुशी व्यक्त गरे । यस्तै उनले आगामी दिनहरूमा यस्तै सहयोग गर्न समेत आग्रह गरे ।

सबै कुराले विकट रहेको ठाउँमा न्यानो कपडा वितरणले विद्यार्थीहरूलाई जाडो समयमा थोरै भएपनि राहत मिल्ने उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै मिडिया हाउसका प्रबन्धक मगरले तिहारमा खेलेको देउसी भैलोबाट संकलन भएको रकम मध्य २५ प्रतिशत समाजिक कार्यमा लगाएको बताए । उनले भने, ‘समाजिक कार्यमा केही गरौँ भनेर हामी तिहारमा भैलो खेलेको थियौँ । जसबाट बचेको रकमले आज यहाँ आएर शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा दिन पाउँदा धेरै खुशी लागेको छ ।’

यस्तै उनले यो ठाउँ निकै विकट क्षेत्र रहेको हुँदा पनि यहाँका बालबालिकाहरूलाई न्यानो कपडा दिन पाउँदा धेरै खुशी लागेको भन्दै आगामी दिनहरूमा पनि विभिन्न खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले आफ्नो यो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई समेत धन्यवाद दिएका छन् ।

विद्यालयका शिक्षक एकराज रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गरेको थिए ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस