तुलसीपुर । ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित अन्तरविद्यालय रनिङसिल्डको उपाधी अमृत एकाडेमी तुलसीपुर–१९ बिजौरीले चुमेको छ । ३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कास्य पदक सहित अन्य सात प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै अमृत एकाडेमीले पहिलो स्थान हात पारेको छ।
फाउण्डेशनद्वारा सञ्चालित आदर्श एकाडेमी इङलिस बोडिङ स्कुल तुलसीपुरको आयोजनमा भएको रनिङसिल्ड प्रतियोगितामा पिएण्डके पाठशाला भमके र ज्ञानज्योति पब्लिक स्कुल बम्नैले क्रमशःदोस्रो र तेस्रो स्थान हात पारेका छन् ।
आयोजक विद्यालय आदर्श एकाडेमीका प्रिन्सिपल बसन्त टण्डनको अध्यक्षता र दाङ जिल्ला फुटबल मञ्चका अध्यक्ष तथा दाङ जिल्ला एथलेटिक्स संघका सचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेत सहित विशिष्ट अतिथिहरु ज्ञानदीप कलेज तुलसीपुरका सहायक प्रमुख मनोज केसी र अमृत एकाडेमी बिजौरीका प्रिन्सिपल लीलाधर सिजुवालले यस्ता खेलकुद प्रतियोगिता फाउन्डेसन निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतियोगितामा फाउण्डेशन भित्र रहेका ८ वटा विद्यालयहरु आदर्श एकाडेमी तुलसीपुर, अमृत एकाडेमी बिजौरी, ज्ञानज्योति पब्लिक स्कुल बम्नै, संस्कार पाठशाला दाङ, ज्ञानज्योति सेकेन्डरी स्कुल तुलसीपुर, पिएण्डके पाठशाला भमके, राप्ती पब्लिक स्कुल बाघमारेका खेलाडी विद्यार्थीको सहभागीता रहेको खेल संयोजन सुरज ओलीले जानकारी गराए।



