दंगीशरणमा कक्षा ५, ८ र १० को पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण

दंगीशरण । दंगीशरण गाउँपालिकाको समन्वय, शिक्षा विकास तथा समन्वय इकाइ घोराही दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम बिरेन्द्र नमुना मावी हेकुलीमा शुरु भएको छ ।

शिक्षाशाखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको सभापतित्व, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा बिरेन्द्र नमुना मावी हेकुलीका प्रधानाध्यापक खिमराज खनालको बिशिस्ट आथित्यतामा तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिदो पाठ्यक्रम तथा परिमार्जित पाठ्यवस्तु अनुरुप शिक्षण सिकाइ क्रियाकलाप अगाडी बढाउनुपर्ने आजको आवश्यकता रहेको बताए । एकातिर समुदायमा सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रसतस्पर्धा चलिरहेका बेला सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न गुणस्तरीय शिक्षा तथा परिमार्जित पाठ्यवस्तुप्रति जानकार रहन आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै शिक्षाशाखा प्रमुख बिनोद अधिकारीले शिक्षण सिकाइ क्रियाकलापमा विशेष जोड दिन सहभागी शिक्षकहरुलाई आग्रह गरे । प्रविधिको विकाससँगै विकासले गति लिइरहेका बेला शिक्षकहरुले पनि प्रविधिसँगै अगाडी बढ्न अपरिहार्य रहेको बताए ।

तालिमको उद्देश्यबारे प्रकाश पार्दै सामाजिक विषय शिक्षक प्रदिप चन्दले कक्षा ५, ८, र १० को पाठ्यक्रम कस्तो छ ? आन्तरिक मुल्यांकन र बाह्य मुल्यांकनको प्रक्रिया तथा पाठ्यपुस्तक र पाठ्यवस्तुमा के कस्ता विषयवस्तु समेटिएका छन् भन्ने कुराबारे जानकारी गराउन पनि नयाँ पाठ्यक्रमको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

त्यस्तै कार्यक्रममै बोल्दै बिरेन्द्र नमुना मावी हेकुलीका प्रधानाध्यापक खिमराज खनालले सिकाइमा सकारात्मक प्रभाव पार्न पाठ्यक्रम र पाठ्यसामग्री सम्बन्धी दुई दिने तालिम फलदायी हुने बिस्वास ब्यक्त गरे । यस्तै प्रअ खनाले तालिममा सिकेका कुराहरुलाई कक्षाकोठामा लागु गरिदिन तालिममा सहभागी शिक्षकहरुलाई आग्रह गरे ।

कार्यक्रमको सहजीकरण शिक्षाशाखा दंगीशरणका प्राविधिक सहायक उमा केसीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस