तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१ मा रहेको बीरेन्द्र माध्यमिक विद्यालयले कक्षा १ मा अध्ययनरत विद्यार्थी प्रेमलाल डाँगीको ९० औं जन्मोत्सव मनाइदिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलुप्रसाद न्यौपाने, विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्ती, पवननगर स्वास्थ्य चौकी प्रतिनिधि खड्क पुन, विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी तथा विद्यार्थीले विद्यालयको प्रार्थना समयमा जन्मदिन मनाएका हुन । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक घर्तीले ९० बर्षीय प्रेमलाल डाँगीलाई पढाइका लागि उमेरले नछेको भन्दै गाउँमा पढाइबाट टाढा रहेको बालबालिकालाई अध्ययनका लागि विद्यालयमा आउन आग्रह गरेका थिए ।
पढाइका लागि उमेर नछेक्ने भन्दै उनले प्रेमलाल डाँगीलाई उदाहरणीय पात्र भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए । त्यसअवसरमा विद्यार्थी डाँगीले आफुले स्कुल आउन सक्दासम्म पढाइलाई निरन्तरता दिने र यसरी विद्यालयमा सबैका माझ जन्मदिन मनाउन पाउँदा खुसी लागेको बताए । ‘यो उमेरसम्म यसरी जन्मदिन मनाएको थिइनन्’, विद्यालयका जेष्ठ विद्यार्थी डाँगीले भने, ‘यो उमेरमा सवैको सहभागीतामा जन्मदिन मनाउन पाउँदा खुसी लागेको छ ।’
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलुप्रसाद न्यौपानेले डिाँगीलाई खादा, माला तथा टीका लगाई सम्मान गर्नका साथै पढाइलाई सहयोग भनेर विद्यालयको तर्फबाट कापी र कलम प्रदान गरेका थिए ।



