जाडो बढेपछि नेपाल–चीन सीमा क्षेत्रका प्रहरी चौकी सदरमुकाम सारियो

सुर्खेत । कर्णालीमा जाडो बढेसँगै नेपाल–चीन सीमा नाका क्षेत्रका आठ प्रहरी चौकी सदरमुकाम सारिएको छ । चिसोका कारण ज्यान जोगाउन मुस्किल भएपछि प्रदेशका तीन जिल्लाका उत्तरी भेगमा रहेका आठ प्रहरी चौकीलाई सदरमुकाम सारिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार हिमपातपछि चिसो बढेका कारण हालसम्म डोल्पाका ६ सहित हुम्ला र मुगुका एक–एक वटा प्रहरी चौकीलाई सम्बन्धित जिल्ला सदरमुकाम सारिएको छ ।

तापक्रम माइनस डिग्रीमा झरेपछि डोल्पा जिल्ला अन्तर्गतका ईलाका प्रहरी कार्यालय धो, अस्थायी प्रहरी चौकी तास्की, ईलाका प्रहरी कार्यालय तिन्जे, ईलाका प्रहरी कार्यालय राप, ईलाका प्रहरी कार्यालय नाम्दो र प्रहरी चौकी भिजेरमा कार्यरत प्रहरीलाई सदरमुकाम दुनै ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वीरबहादुर वलीले बताए ।

उनले जिल्ला सुरक्षा समितिको मङ्सिर १५ गते बसेको बैठकले उत्तरी चीन सीमा नाका नजिक रहेका प्रहरी चौकी चिसो अवधिसम्मका लागि सदरमुकाम सार्ने निर्णय भएपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई सदरमुकाम ल्याइएको जानकारी दिए । उनका अनुसार हिमपातपछि चिसो बढेका कारण प्रहरीलाई सदरमुकाम सारिएसँगै ६ महिनाका लागि ती चौकी खाली हुनेछन् । अत्यधिक जाडो बढेपछि मुगु–तिब्बत सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई सदरमुकाम सारिएको छ ।

सदरमुकाम सारिएका प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयहरू सई/असईको कमाण्डमा थिए । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी बलका टोलीहरू भने उतै बस्ने छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस