हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र संसदीय समितिलाई अघि बढाइने बताएका छन् । आज १७औँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद् सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मुलुककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

‘संसद् सर्वोच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन ? हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वोच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढङ्गले काम गरौँ ।’ उनले भने । संसद्लाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमानदारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भए पनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गरे ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत सङ्घीय संसद्लाई थोरै रकम विनियोजन गरिएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको १७ खर्ब ५१ अर्बको बजेटबाट संसद्लाई जम्मा एक अर्ब २२ करोड मात्र रकम विनियोजन भएको छ । छिमेकी मुलुकमा एक सांसद बराबर छ जना विशेषज्ञसहितका सहयोगी कर्मचारी रहने गरेको पाइएकामा नेपालमा भने एक बराबर एक मात्रै छ । प्रदेश संसद्को समेत सङ्घीय संसद्ले अभिभावकत्व लिनुपर्छ ।’

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका कर्मचारीमा उत्प्रेरणाको अवस्था कमजोर मात्र होइन आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत कमी रहेको बताए । संसद् दिवस मूल समारोहका संयोजक एवं सचिवालयका सचिव डा रोजनाथ पाण्डेले आफ्नो बुद्धि र विकेकले भ्याएसम्म जिम्मेवारी पूरा गरिरहेका विशिष्टकृत संसद् सेवाका कर्मचारीको पीर मर्का हेरिदिने कसले भन्ने प्रश्न उब्जेको बताए ।

देशमा निजामती सेवाबाट संसद् सेवा अलग भएका दिन प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइने गरिएको छ । दुई सदनात्मक सङ्घीय संसद् सञ्चालन र व्यवस्थापनका लागि संसद् सचिवालयले काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस