अराजकताविरुद्ध सबै दल एक ठाउँमा छौं : प्रधानमन्त्री प्रचण्ड

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान विरोधी क्रियाकलापकाविरुद्ध सबै राजनीतिक दल एक ठाउँमा उभिएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै उनले अराजकताविरुद्ध सबै दल एक भएको बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध हुने अराजक र अतिवादी क्रियाकलापविरुद्ध हामी एक छौं भन्ने कुरा हामीले प्रतिबद्धता गरेका छौँ’, प्रचण्डले भने, ‘अराजकता र वितण्डावादी क्रियाकलाप परास्त गर्नेगरी आवश्यक तयारी पनि भएको छ ।’

उनले केही महिनाभित्र देशको अर्थतन्त्रले समेत लय समात्ने दाबी गरेका छन् । नेपाल राष्ट्रबैंकले शुक्रबार ल्याएको मौद्रिक नीति समीक्षाले समेत अर्थतन्त्र सुधार गर्न भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास छ । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर अस्वभाविक ढंगले बिक्री भएको देखाएर नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्न खोजिएको बताए । ‘एनसेलको खरिद बिक्री केही अस्वभाविक देखिएको छ । राजश्व छल्न खोजिएको, केही वर्षपछि एनसेल नेपालकै स्वामित्वमा आउने सहमतीलाई तोड्न खोजिएको जस्तो यो विषयमा छानबिन हुन्छ नै’, प्रचण्डले भने ।

सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका प्रधानमन्त्री दाहालले गेटामा चाडै ६ सय शैय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो शहीद दशरथचन्द चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको समेत बताएका छन् ।

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक अहिले राष्ट्रिय सभामा छलफलका क्रममा रहेको बताउदै चाडै पारित गरेर मेडिकल कलेज सञ्चालन गर्ने अवस्थामा पुग्ने दाबी गरे । कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे भारतसँग ठोस सहमति भइसकेको, पञ्चेश्वर जलविद्युत परियोजना अघि बढाउने सहमति भइसकेकाले चाडै काम अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले उद्घाटन गरेको महोत्सव अगामी पुष २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस