विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको हो ।

सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको उनले बताए । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।

डीआईजी चन्दका अनुसार, गोरखाका घले सुन बोक्न प्रयोग भएका भरिया मात्र हुन् । ‘उनलाई सुन ल्याउने भरियाका रुपमा मात्र केही अघि दूबई पठाइएको देखिन्छ’, चन्दले भने, ‘अस्कोटमा लुकाएर उनले सुन ल्याएका थिए ।’

प्रहरीका अनुसार, घले गएराति ११:५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस