सल्यानका दुई पालिकाका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिँदै

सल्यान । सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमि आयोग र जिल्लाका दश वटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन लगायतका काम अगाडि बढाइएको छ । केही पालिकाले काम अन्तिम चरणमा पुर्‍याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष वीर बहादुर सेजवालले त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लागि मङ्सिर महिनाभित्रमा लालपुर्जा वितरण गरिसक्ने बताए । ‘जग्गा नापजाँच भएर लालपुर्जा अन्तिम चरणमा छन् मन्त्रालयले आवश्यक कर्मचारी पठाइदियो भने मङ्सिर महिनाभित्रमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लागि लालपुर्जा वितरण गर्छौ उनले भने ‘अव्यवस्थित बसोबासीको सन्दर्भमा अझै केही समय लाग्छ ।’

कालीमाटी गाउँपालिकामा लगत सङ्कलन गरेर कम्प्युटरमा इन्ट्रि भइसकेको र अव नापजाँच गर्न बाँकी रहेको उनको भनाइ छ । जसमध्ये त्रिवेणी गाउँपालिकामा भूमिहीन दलित १७, भूमिहीन सुकुम्बासी १२ र अव्यवस्थित बसोबासी एक हजार ६७ छन् । यस्तै कालीमाटी गाउँपालिकामा भूमिहीन दलित ५०, भूमिहीन सुकुम्बासी २८ र अव्यवस्थित बसोबासी दुई हजार ६ सय ३९ छन् ।

जिल्लाका केही पालिकाले लगत सङ्कलनको काम थालेका र केही पालिकाले प्रक्रिया नै अघि नबढाएकाले जिल्लामा कतिले लालपुर्जा पाउँछन् भन्ने तथ्याङ्क नभएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस