भुकम्प प्रभावितलाई मंसिर महिनाभित्रै अस्थायी टहरा बनाइसक्ने

जाजरकोट । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो महिनाभित्र सबै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्नुपर्ने बताएकी छिन् । भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिकामा आइतवार जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्दै मन्त्री शर्माले पुसदेखि चिसो बढ्ने भएकाले मङ्सिर महिनाभित्र नै अस्थायी टहरा निर्माणको काम पूरा गर्नुपर्ने बताएकी हुन् ।

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । उनले अस्थायी टहरा निर्माणका लागि प्रति परिवार ५० हजार रकम निकासा गर्ने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले गत मन्त्रीपरिषद् बैठकबाट जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएकाले अब टहरा निर्माणले गति लिने स्पष्ट पारिन् ।

जिल्लाको मौजुदा सुरक्षाकर्मीको जनशक्ति कम भएमा थप जनशक्ति माग गर्ने अधिकार पनि जिल्ला सुरक्षा समितिलाई दिएको मन्त्री शर्माले जानकारी दिइन् ।

२०७२ सालको भूकम्पको पुनर्निर्माणमा देखिएको समस्याबाट सिकेर पुनर्निर्माणलाई सहज बनाउन अहिले सरकारले नयाँ कार्यबिधि निर्माण गरेको मन्त्री शर्माले जानकारी दिइन् । टहरा सकेसम्म सुरक्षित बनाउनुपर्ने तर जनताले स्थानीय सामग्री प्रयोग गरेर आफ्नो आवश्यकताका आधारमा बनाउने घरका लागि पनि अनुदान दिने गरी नीति पारित भएको उनले जानकारी दिइन् ।

आहिलेको प्रमुख दायित्व नागरिकलाई छानामुनि ल्याउनु रहेको उल्लेख गर्दै उनले उद्दार र उपचारमा जस्तै पुनर्निर्माण र पुनःस्थापनामा पनि नेतृत्व लिन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरिन् । उनले भुकम्पको बिपद सामना गर्न स्थानीय तहले लिएको सफल नेतृत्वले नेपालमा सङ्घीयताको औचित्य थप पुष्टि भएको पनि बताइन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस