नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ । यसअघि सन् २०२१ मा पहिलो संस्करण सम्पन्न भए पनि कोभिड–१९ महामारी र एन्फासँगको सम्झौता विवादका कारण दोस्रो संस्करण आयोजना हुन सकेको थिएन ।

आजदेखि पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको पहिलो दिन आज साविक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

एनएसएलले यसपटक आइएमइ पेसँग सहकार्य गर्दै टिकट अनलाइन बिक्री सुरु गरिसकेको छ। रंगशालाको सामान्यतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ। सबै खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस