राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहाले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको आगामी फागुन २० गते पद रिक्त हुँदैछ ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलकोे व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस