काठमाडौँ । आइडिया जार डिजिटल कम्पनीले ‘रमाइलो’ एप सार्वजनिक गरेको छ। एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधासमेत रहेको छ।
कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियताअनुसार निश्चित रकम दिँदै जाने जनाएको छ। नेपालमा टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ।
सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ। सरकारले सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम एप बन्न सक्ने कम्पनीको दाबी छ।
यस एपमा भिडिओ निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
प्रयोगकर्ताहरूको सुझावका आधारमा कम्पनीले एपलाई विकास गर्दै लैजाने जनाएको छ। रमाइलो एप १३ वर्षभन्दा माथिका व्यक्तिले चलाउन पाउनेछन्। एप हाल गुगल प्लेस्टोरमा उपलब्ध छ। केहीदिनमै आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ।