स्थानीय मदिरा ब्राण्डिङ्का लागि कानुन निर्माण गर्दैछौं : मन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्रान्डिङ गर्नका लागि कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार संघीय सरकारसंग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित पेय पदार्थ र मदिरालाई कानुन निर्माण गरि बजारीकरण गर्नका लागि दुई करोड बजेट बिनियोजन गरेको छ ।

सोही अनुसार कानुन निर्माणको प्रक्रिया अघि बढेको अर्थमन्त्री मास्कीले बताए । ‘हामीले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्नका लागि संघीय सरकारसँग पनि समन्वय गरेका छौं’, उनले भने ‘एउटा समिति नै बनाएर कानुन निर्माणको प्रक्रियालाई अघि बढाएका छौं ।’

संघीय अर्थमन्त्री, उद्योग मन्त्रीसहित प्रदेश सरकारको टोली सम्मिलित एउटा समिति बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाएको मन्त्री मास्कीले बताए । हाल विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपालमै रक्सी उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयत गर्नुपर्ने अबस्था नरहने भन्दै यो कार्य अघि बढाइएको उनको भनाइ छ ।

पहिलो चरणमा बाँकेस्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट रक्सी उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले बताए । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालिगुराँसलगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।

यसरी प्रदेश सरकारले रक्सी उत्पादन गरेर बजारीकरण गर्न थालेपछि प्रदेशका ७५ हजारले रोजगारी पाउने उनको भनाई छ । ‘अहिले धेरै युवा जनशक्ति विदेश जाने गरेको छ, नेपालमा स्वरोजगारका अवसरहरु पनि प्रयाप्त छैनन्’, उनले भने ‘यो कानुन मात्रै निर्माण भएमा राम्रो जनशक्तिले नेपालमै रोजगार पाउनेछ ।’

नेपालमै उत्पादन हुने मदिराहरु अहिले विदेशबाट आयत गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने मन्त्री मास्कीले बताए । दाङ तुलसीपुर–३ मा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए । सोही अवसरमा तुलसीपुर ३ मा ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस