भुकम्पले जाजरकोट र रुकुममा ठुलो क्षति, राहत र उद्धारमा जुट्न प्रधानमन्त्रीको अपिल

काठमाडौं । गएराती आएको भुकम्पमा परी जाजरकोट र रुकुममा ठुलो क्षति भएको छ ।

प्राप्त विवरण अनुसार जाजरकोट मात्र अहिलेसम्म २५ जनाको मृत्यु  भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरण संकलन गर्ने कार्य जारी रहेको जानकारी दिदै राति भएकाले पूर्ण विवरण आउन नसकेको जनाएको छ ।

जाजरकोटको नालगाड नगरपालिकामा ठुलो नोक्सानी भएको छ । भूकम्पमा परि जाजरकोटको नलगाड नगर पालिकाकी उप -प्रमुख  सरिता सिंहको समेत मृत्यु भएको छ ।

त्यसैगरी रुकुममा पनि मृत्यु हुनेको संख्या २५ नाघेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुकुम पश्चिमको पश्चिमी क्षेत्रमा ठुलो नोक्सानी भएको प्रहरीले जनाएको छ ।

यसैबीच जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पका घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको सरकारले जानकारी दिएको छ । घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारमार्फत जानकारी दिइएको छ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको उल्लेख गर्दै घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका र उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।

गएरातीको भूकम्पबाट सबै भन्दा बढी जाजरकोट र रुकुममा क्षति भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस