
तुलसीपुर । दाङको बिजौरी हुँदै रोल्पा होलेरी–दहबन जोड्ने सडकखण्डमा पर्ने रानीवासस्थित ग्वारखोलाको अवलोकन गरिएको छ । आइतबार बिजौरी उद्योग वाणिज्य सघंको नेतृत्वमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, इन्जिनियर पवन योगी, तुलसीपुर १९ का वडाध्यक्ष प्रेमनाथ योगी, रुण्टीगढी गाँउपालिकाका अध्यक्ष जनक पुन, लगायत विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको टोलीले दाङ र रोल्पाको सिमानामा पर्ने रानीवास क्षेत्रको ग्वारखोलामा पुगेर अवलोकन गरेको हो ।
रुन्टीगढी गाँउपालिका वडा नं. ६ र ८ जोड्ने उक्त क्षेत्रमा पुल नबन्दा त्यहाँका स्थानीयवासीले वर्षौदेखि सास्ती खेप्दै आएका छन ।उनीहरुले जोखिम मोलेर बाह्रै महिना खोला वारपार गर्ने गर्दछन ।

अवलोकनमा पुगेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले दाङ र रोल्पाको सिमानामा रहेको ग्वारखोला ऐतिहासिक खोला भएकोले यस ठाउँमा पुलको अत्यन्तै आवश्यक रहेको बताए । तुलसीपुर उपमहानगरपालिका र रुण्टीगढी गाउँपालिका लुम्बिनी प्रदेशको कार्यक्षेत्र भित्र पर्ने भएकोले यी दुई पालिकाहरुले यस क्षेत्रलाई प्राथमितामा राखेर बिकास निमार्णमा जोड दिनुपर्ने उनले बताए ।
यो क्षेत्रमा कृषिमा बढी सम्भाव्यता रहेको बताउँदै उपाध्यक्ष केसीले कृषि उपजको हिसावले रणनीतिक सडक बनाउने र दुई जिल्लाको अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास दिलाए । उनले तुलसीपुर र रुण्टीगढी गाँउपालिकाको नेतृत्वमा प्रदेश योजना आयोगले ग्वारखोलामा बेलिब्रिज निमार्णका लागि पुर्णरुपले पहल गर्ने र आउँदो आर्थिक वर्षका लागि पुर्ण बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरको विकास र समृद्धिका लागि बिजौरी हुँदै होलेरी दहबन जोड्ने बाटो बाहेक अन्य विकल्प नरहेको बताए । ‘द्वन्द्वपछि बिजौरी बजारमा विकासले फड्को मार्न नसकेको अवस्था थियो, त्यसमा विभिन्न असरहरु थिए, नगरप्रमुख खड्काले भने ,‘द्वन्द्व सकिएर शान्ति प्रक्रियामा गइसकेपछि बिजौरी बजारले आफुलाई आत्मनिर्भर बनाउने प्रयास बनाउने कोशिस गरिरहेको छ, तर त्यसका निम्ति जोडिने चिजहरु कृषि, गैरकृषि क्षेत्र र सडकको विकास नभईकन यो बजार समृद्ध र आत्मनिर्भर बन्न सक्दैन ।’
उनले बिजौरी हुँदै दहबनसम्मको सडकलाई स्त्तरोउन्नतीका लागि मेटमणी चौधरी र सिता गुरुङ् सहरीमन्त्री हुदाँ इस्टेमेट पेश गरेपनि सिलिङ् पर्न नसकेको बताए । ‘दुई अन्तर पालिका जोड्नका निम्ति प्रदेशको भूमिका प्रमुख हुन्छ भने अन्तर जिल्ला जोड्नका निम्ति सघंको भूमिका प्रमुख हुन्छ तर सघंले यसपटकको बजेटमा कतै सम्बोधन नगर्दा समस्या भएको छ।’ नगरप्रमुख खड्काले भने ।
उनले यसपटक बजेटको सुनिश्चिता गर्न ढिलाई हुने भएकोले प्रदेश सरकारको पहलमा बेलिबिज्र निमार्ण गर्ने तयारी थालेको बताए ।

त्यस्तै रुण्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले स्थानीयवासीको लागि समस्या बनेको यो बाटो केही राजनितिक पार्टीहरुका लागि चुनावी नारा मात्र बनेको तर्क गरे । उनले रानीवासमा पुल निमार्णका लागि धेरै प्रयास भएको र आफुहरु मन्त्रालयमै पुगेर पटक–पटक माग गरेपनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । ‘हामीले वर्षेनी ग्वारखोलामा पुल बन्नुपर्छ भनेर माग गरिरहेका छौँ तर यहाँका केही ठुला नेताहरुले हाइड्यामको परिकल्पना गरि बजेट बिनियोजन गर्दा पुल बन्न सकेको छैन ।’ उनले भने ।
उनले रानीवासमा पुल निमार्ण गर्नका लागि ६ करोडको लागतमा डिपिआर भैसकेको भएपनि काम हुन नसकेको बताए । यस सडकखण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी–६ र ८ को रानीवास क्षेत्रको ग्वारखोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको र मुख्यमन्त्रीले आगामी वर्ष बजेट बिनियोजन गर्ने आश्वासन दिएको अध्यक्ष पुनले बताए ।
बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले रुण्टीगढी गाउँपालिका अध्यक्ष ओमराज बस्नेतले बिजौरी दहबन जोड्ने सडक रुण्टीगढीबासीका लागि घाँटीमा पासो लगाएर जस्तै भएको र यसबाट मुक्ती पाउन नसकेको गुनासो गरे । ‘केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्मका जनप्रतिनिधिहरु जो आएपनि फोटो भिडियो खिचेर लैजाने गर्नुहुन्छ तर यसको स्तरउन्नतिको लागि कुनै सरकारबाट पहल भएन, यो बाटो मजाक जस्तै बनेको छ’, उनले भने, ‘हामीले कहिलेसम्म सास्ती खेप्ने ?’
बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।