
तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानकै रुपमा लाइन काट्न सुरु गरेको छ । कार्यालयले आजदेखि विभिन्न स्थानमा विद्युत कटौती गर्न सुरु गरेको हो ।
विभिन्न सञ्चार माध्यमबाट बक्यौता रकम बुझाउन सेवाग्राहीलाई सचेत गराउदापनि विद्युत महशुल नबुझाएपछि आजदेखि लाइन काट्न सुरु गरेको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिनुभयो ।
२० जना ग्राहकबाट २ लाख ५३ हजार ८ सय ४३ रुपैयाँको बक्यौता उठ्न बाँकी रहेका ग्राहकको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राही मध्य १३ जनाले आजै विद्युत महशुल तिरेर पुनः लाइन जोडेको प्रमुख गोशेलीले बताउनुभयो ।
१३ जना उपभोक्ताबाट ९५ हजार ७ सय ६९ रुपैयाँ ९५ पैसा असुली भएको छ । अन्य लाइन काटिएका ग्राहकको हकमा विद्युत महशुल तिरेपछि मात्रै विद्युत लाइन सुचारु गरिने उहाँले बताउनुभयो ।
तुलसीपुर वितरण केन्द्रमा ३ करोड बढि रकम उठ्न बाँकी रहेको छ ।