राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन महत्वपूर्ण भुमिका हुने बताएका छन् ।

आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुङ्गोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।

उनले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरणका लागि महासचिव गुटेरेसले ।खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताए ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।

महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा उनीहरूको योगदानको उचित सम्मान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस