
सल्यान । सल्यानमा दुईजना युवाकाे कुटपिट बाट एक जनाको मृत्युु भएको छ ।
सल्यानकाे बागचौर नगरपालिका ७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटना गत ४ गते भएको भएपनि पिडित परिवारले हिजो ७ गते बेलुका मात्रै प्रहरीलाई जानकारी गराएका हुन् ।
सोहि ठाउँकाे स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उहाँलाई कुटपिट गरेको र कुटपिटपछि घाइते भएका उहाँको उपचारका क्रममा भारतको लखनउमा मृत्युु भएको भन्ने खबर परिवारले इलाका प्रहरी कार्यालय थारमारेलाई हिजो मंगलबार बेलुका मात्रै जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न रहेका सन्तोष ओलीलाई दाङ प्रहरीको सहयोगमा दाङबाट पक्राउ गरि अहिले सल्यान लग्दै गरेको र अर्का केशर ओली फरार रहेकाले खोजिकार्य रहेको डिएसपी कार्कीले बताउनुभयो ।
घटना भएको पुरानछापको स्थानीय विद्यालयमा भलिबल खेल्न जम्मा भएपछि स्याला भन्ने ठाउँका केशर र सन्तोष पनि भलिबल खेल्ने मैदानमा आएर घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेकाे तर घनश्यामले उनिहरुलाई नढोगेपछि घटना भएको पिडित परिवारले बताएको छ ।
दुवै जनाले घनश्यामलाई पालैपालो हानेका थिए । दुई जनाको कुटाईपछि घनश्याम बेलुका घरमा आएर टाउको दुखेको भन्दै खाना नखाई सुतेकाे परिवारले बताएका हुन् ।
त्यसबेलासम्म घटनाबारे परिवारलाई थाहा थिएन । घटनाबारे परिवारले ६ गते मात्रै थाहा पाएपछि बागचौर स्थित जनप्रिय मेडिकलमा लिदा शरिर भित्र रगत जमेको थियो ।
त्यसपछि घनश्यामलाई उपचारका लागि भारतको लखनउ लगिएको हो ।
लखनउमा उपचारको क्रममा घनश्यामको बुधबार बिहान मृत्यु भएको डिएसपी कार्कीले बताउनुभयो ।