
तुलसीपुर । दाङको तुलसीपुरबाट लुटेको एक लाख नगदसहित दुई जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सम्झना टोलका २१ वर्षीय आयुष विक र सोही ठाउँका १८ वर्षीय सुनिल मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
आज दिउँसो करिब २ बजे तुलसीपुर-८ का १७ बर्षिय दिनेश वलीले तुलसीपुरमा रहेको माछापुछ्रे बैंकबाट एक लाख रुपैयाँ निकालेको देखेपछि उनीहरूले पिछा गरेका थिए ।
उनीहरूले वलीको मोबाइल र एक लाख नगद पनि लुटेर भागेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।
लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी खटिएको थियो ।
बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यका अनुसार लुटपाट पछि उनीहरू भागेका थिए ।
पछि प्रहरीले उनीहरूलाई तुलसीपुर-१० राइखल्यानबाट पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।