बसमा आक्रमण गर्ने ९ जना पक्राउ


सल्यान । सल्यानको थारमारेबाट दाङ जाँदै गरेको ना ३ ख ९७६४ नम्बरको यात्रुवाहक बसमा आक्रमण गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सिद्धकुमाख गाउँपालिकाको बेलाईतीघारी र चाक्लिघाटको बीचमा पर्ने राप्ती राजमार्गमा हिजो र दिउँसो युवाको समूहले बसमा आक्रमण गरेका हुन् ।

बस आक्रमणमा पक्राउ पर्नेमा शारदा नगरपालिका १४ माल्नेटा बस्ने वर्ष २३ का प्रदिप रावत, २३ का प्रवीण भण्डारी, २३ का सुशील कुवर, वर्ष १८ का गणेश कुँवर, २१ का अजय कुँवर, २२ का दिपक रावत, २३ का सन्दिप भण्डारी, शारदा नगरपालिका-७ का वर्ष २२ का दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो ।

शारदा नगरपालिका-१४ का प्रदीप रावत गाडी चालक रहेका र ना ३ ख ९७६४ नम्बरको बस चालक छत्रेस्वरी गाउँपालिका ३ का वर्ष २२ का यज्ञबहादुर रेउले बीच भनाभन भएको र साेही कुरालाई लिएर बस चालकलाई कुट्नका लागि रावतले गाउँबाट साथीहरु लगेर बसमा आक्रमण गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।

युवाको समूहद्वारा आक्रमण हुँदा बस चालक यज्ञबहादुर रेउले सामान्य घाइते हुनुभएको छ भने बसको दुईवटा सिसा फुटेको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस