उफ! पुनः राेकियाे छपाइकाे काम

काठमाडौँ ।   सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स  छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेककाे छपाइ रोकिएको छ । 

अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो । 

अहिले आकस्मिक रुपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छाप्न लागेको  तीन साताभन्दा बढी भएको विभागले जनाएको छ । नियमित रुपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको सङ्ख्या भने बढीरहेको छ । थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुले बताउनुभयो ।  

अहिले खरिद गरिएका कार्ड पहिलो पटक छ लाख आउन लागेका बताइएको छ । त्यसपछि दोस्रो पटकमा छ लाख खरिदका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।


सरकारले नागरिकलाई सहज रुपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा पटक पटक नागरिकले सास् पाइरहेका छन् ।

बिभन्न बहानामा नागरिकले समयमा अनुमतिपत्र पाउन सकेका छैनन् । 

एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार प्रिन्टर र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो ।

अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै नभइ लामो समय कुरेर पाएका कार्डमा पनि समयसमयमा समस्या आइरहेको सेवाग्राहीले बताउने गरेका छन् ।

लामो समय रोकिएर एकैपटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । 

एक स्थानीय तहभित्रको यातायात व्यवस्थापनको जिम्मेवारी पालिका, दुई वा त्योभन्दा बढी पालिकामा भए प्रदेश र अन्तरप्रदेश चल्ने सवारीसाधन र यातायात व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख रहेको  छ ।

तर ति सरकारबीच समन्वय नहुँदा पनि समय समयमा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस