सासुको हत्या आरोपमा  पक्राउ परिन बुहारी

सल्यान । सल्यानमा सासुको हत्या गरेको आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । सासुको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज १८ गते बिहान घरभित्रै खाद्यान्न राख्ने काठको भकारोमा मृत अवस्थामा फेला परेका सल्यानको सिद्धकुमाख गाउँपालिका ४ खार्पनका ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ । 

घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीले बताउनुभयो ।

पक्राउ परेका शर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको डिएसपी कार्कीले बताउनुभयाे ।

पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभइ घाँटीमा निलडाम देखिएको उहाँको भनाइ छ ।

शर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन् । पक्राउ परेपछि शर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेकी छिन् ।


उनले आफूले मारेर कसैले थाहा नपाओस् भनेर नै खाद्यान्न राख्ने काठको भकारीमा लुकाएको समेत स्विकार गरेको प्रहरीले जनाएको छ ।

१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान गन्हाउने तथा गल्न थालेको अवस्थामा शव फेला परेको थियो । १५ गते नै शर्मिलाले सासुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस