दाङ । नेपालबाट मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिन सुरु गरेको छ ।
मौसम पूर्वानुमान महाशाखका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको हो ।
नेपालका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टोबर २ तारिख नै थियो । तर यसपालि मनसुन बहिर्गमनमा केही ढिलाई भएको मौसमविद्ले बताएका हुन् ।
मौसमविद्का अनुसार मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ । प्रवेश पनि मनसुन पूर्वबाटै गर्ने गर्छ ।
यस वर्ष मनसुन नेपाल भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो ।
मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ । यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ ।
पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहनेगरेकाे छ । डिसेम्बरदेखि विन्टर (हिउँद) लाग्ने मौसमविद्ले बताएका छन् ।