तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का योगेश श्रेष्ठले तुलसीपुर उपमहानगरपालिकाले नियन्त्रणमा लिएर ट्याक्टर फिर्ता नपाएको बताउनुभएको छ ।
दुई वर्षअघि खैरेनीमा घर बनाउँदा बाँकी रहेको बालुवा प्रयोग गरी डबरी-खैरेनीमा कल्भर्ट बनाउने बेलामा ट्याक्टर उपमहानगरपालिकाले अवैध बालुवा उत्खनन्को आरोपमा नियन्त्रणमा लिएको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १५ ले पनि चोरी गरिएको हैन भन्ने सिफारिस दिएको र छानबिन समितिको प्रतिवेदनमा सोहि बमोजिम भएको भएपनि उपमहानगरपालिकाले व्यक्तिगत रिसिवी साँध्न ट्याक्टर नदिएको उहाँको भनाई छ ।
शुक्रबार रिपाेर्टर्स क्लबमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले गत भदौ २९ गते उपमहानगरपालिकाले नियन्त्रणमा लिएको ट्याक्टर २३ दिनसम्म आफुले नपाएको गुनासाे गर्नुभयाे ।
नदिजन्य पदार्थ चोरी नगरेका कारण कुनै पनि हालतमा २५ हजार जरिवाना नबुझाउने उहाँले अडान लिनुभएको छ भने उपमहानगरपालिकाले वडाको सिफारिस र छानविन समितिको प्रतिवेदन आउँदा पनि ट्याक्टर जरिवाना नलिएर फिर्ता नगर्ने अडान लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन अनुगमन समितिका संयोजक शंकर कुमार खड्काले ट्याक्टर व्यवसायीलाई दु:ख दिने नियत नरहेको बताउनुभयो । यद्यपी ट्याक्टर जरिवाना नलिई छोड्नेबारे अध्ययन प्रतिवेदन नहेरी केहि भन्न नसकिने बताउनुभयो ।
उहाँले नदिजन्य पदार्थसहित नियन्त्रणमा लिएका ट्याक्टरलाई जरिवाना लिएरमात्रै छोड्ने गरेको दाबी गर्नुभयाे ।