बेमौसमी वर्षाले लाखाैकाे क्षति भएकाे अनुमान: विवरण आउन बाँकी


तुलसीपुर  ।
सोमबारदेखि परेको बेमौसमी वर्षाले दाङका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । वर्षाका कारण ठाउँ-ठाउँका घरमा पानी पसेको छ भने भौतिक क्षतिसमेत पुगेको छ ।

वर्षातपछि आएको कुला तथा नालामा पानीको बहाव बढ्दा तुलसीपुरका धेरै ठाउँमा क्षति पुगेको छ ।

वर्षापछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को सिद्धेश्वरी टोलमा शिवानी सार्कीको घर भत्किएको छ ।

कुलोमा पानीको बहाब बढेपछि घरको जगमा क्षति पुर्‍याउँदा घर भत्किएको तुलसीपुर उपमहागनर-पालिका विपद् व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगीले बताउनुभयो ।

घरको जग नै कुलामा परेकोले पनि पानी थुनिदा घर भत्किएको उहाँले बताउनुभयो  । सार्कीको एकतले टिनले छाएको घर भत्किदा करिब पाँच लाख बराबरको क्षति भएको छ ।

वर्षापछि नालामा पानी बढेपछि तुलसीपुर उपमहानगर-पालिका वडा नम्बर ६ मा रहेको कभर्ड हलमा पनि पानी पसेको छ । ठूलो क्षति नगरे पनि पानी पस्दा कभर्ड हल हिलाम्मे भएको छ ।

वर्षात्का कारण सोमबार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ र ९ का करिब १५ घरमा बाढी पसेको हो ।

वर्षात्का कारण तुलसीपुर उपमहानगर-पालिका वडा नम्बर ७ को गुल्मचोक नजिकै पनि दुई/तीनवटा घरमा पानी पसेको थियो ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले वर्षात्ले कृषि खेतीमा भएको क्षतिको विवरण अझै नआएको बताउनुभयो ।

ठूलो क्षति नभएका कारण पनि आधिकारिक विवरण नआएको हुनसक्ने उहाँले बताउनुभयो । अहिले वर्षातको मौसम भएकाले पनि किसानलाई धान नकाट्न उहाँले सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस