दाङ र राेल्पाका १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


दाङ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको दाबी गर्दै दाङ र राेल्पाका १३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


रानाभाटको सम्पत्तिमध्ये ३ करोड १५ लाख ८१ हजार ६६रूपैयाँ ८० पैसा बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

राजनाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ साल असार ३० गतेदेखि गएको कात्तिक ६ गतेसम्ममाको कमाइ र खर्चको बिश्लेषण गर्दा यो रकमको स्रोत नखुलेको पाइएको अख्तियारले जनाएको छ ।

यस्तै रोल्पाको गङ्गादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसमेत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


रोल्पाको गङ्गादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको पाइएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा गङ्गादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई पालिकाबाट रकम विनियोजन एवम् उपभोक्ता समितिबिच सम्झौता भएको थियो ।


उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिन लगाई गलत नापी किताब तयार गरी/गराई सोही बमोजिमको झुट्टा बिल भरपाई तयार गरिएको अख्तियारको दाबी छ ।

भए गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्ने रकम ४ लाख ६६ हजार ४८८ रुपैयाँ भुक्तानी दिई गैरकानुनी हानिनोक्सानी पुर्याएको उनीहरूविरुद्धको आरोपमा उल्लेख छ ।


उनीहरू १३ जनाले बद्नियतले उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस