अब कन्सल्टेन्सीमार्फत अध्ययनका लागि विदेश जान नपाइने


काठमाडौं ।
अध्ययनको नाममा कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउन रोक लगाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने जानकारी गराउनुभएकाे  हाे ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उहाँले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरुमा बढी विकृति देखिएको जानकारी दिनुभयाे ।


उक्त काम म्यानपावर भन्दा पनि कन्सल्टेन्सीहरुमार्फत अध्ययन र कलेजको नाममा भइरहेको पाइएको उहाँले बताउनुभयाे ।

उहाँले वैदेशिक रोजगार व्यवसायी संघमार्फत वैदेशिक रोजगारीमा जानेहरुमा समस्या नभएको  समेत दाबी गर्नुभएको हाे ।

मन्त्री सिंहले शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरुको रेकर्ड सरकारसँग पनि नभएको बताउनुभयाे ।

त्यस्ता संस्थाहरुको कुनै उत्तरदायित्व नहुने भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिएको उल्लेख गर्नुभयाे ।

पछिल्लो समय ९९ प्रतिशत भिजिट भिषामा जाने महिला कामदारहरु समस्या रहेको उहाँको भनाइ छ । उहाँले घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको बताउनुभयाे ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस