दाङ ।
दाङको राप्ती गाउँपालिकाले कर बुझाउन आउने करदाताहरुलाई रायो र मुलाको बिउ उपहार दिन सुरु गरेको छ । ‘जनताको कर जनताको घरमा’ भन्ने मुलनाराका साथ सो अभियान सञ्चालन गरिएको छ ।
अभियान अन्तर्गत गएको भदौ २६ गते मंगलवार देखि गाउँपालिका र ९ वटै वडा कार्यालयबाट विभिन्न प्रकृतिका कर बुझाउन आउने करदाताहरुलाई ४० दिने मुला र रायोको बिउ उपहार दिन थालिएकोे छ ।
कर बुझाउा आउँदा आफुले रोजेको बीउ उपहार पाउदा करदाता समेत खुसी देखिएका छन् । कर बुझाउन आलटाल गर्नेहरुलाई पनि यो अभियानले प्रोत्साहन गरेको छ ।
कर बुझाउँदा सिजन अनुसारको बीउ पाउदा किसानहरुलाई अझ राहत मिलेको करदाताहरुको भनाई रहेको छ ।
जनताको पनि कर तिर्ने दायित्व हो कर जम्मा भइसकेपछि फेरि जनताकै सेवा सुविधामा जोडिन आउने भएकोले ती कुरा जनतालाई बुझाउन पनि यो कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख भट्टले बताउनुभयो ।
गाउँपालिकाको कार्यालय सँगै वडा कार्यालयमा पनि कर बुझाउने करदाताहरुलाई बिउको सहि सदुपयोग हुने गरि सोधेर मात्र उपहार स्वरूप बिउ उपलब्ध गराइने गरेको र २ दिनको अवधीमा १२/१५ जनाले कर बुझाएर बीउ उपहार लगेको शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।
यस आर्थिक वर्ष २०८०/८१ को कुल १ लाख ४० हजार बजेटबाट सो अभियानको सुरुवात गरिएको छ ।