तुलसीपुर ।
तुलसीपुरमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले शनिबार १६ औं वार्षिक साधारणसभा गरेको छ । संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको हो ।
त्यस अवसरमा उपाध्यक्ष केसीले सहकारी उत्पादनसंग जोडिनुपर्ने बताउनुभयो । उहाँले आर्थिक विकासको प्रमुख आधार सहकारी पनि भएको भन्दै उत्पादनसंग सहकारी जोडिनुपर्ने बताउनुभयो ।
उहाँले सहकार्य र सहअस्तित्वले समाजको विकास गर्न नै सहकारी प्रमुख आधार भएको बताउनुभयो । उहाँले सदस्यलाई डिजिटल माध्यममा जोड्नुपर्ने र सहकारीमा सदस्यता दोहोरो लिएर कर्जा लिनेसंग सचेत बन्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सहकारी संघका सचिव रूप बहादुर खत्रीले सहकारीमा आवद्ध सदस्यले वचत गरेको रकम सुरक्षित गर्न संचालक समिति चनाखो बन्नुपर्ने बताउनुभयो ।
उहाँले सदस्यले पनि सुरक्षित हुने वातावरण खोजि गर्नुपर्ने बताउनुभयो । तीनवटै सरकारलाई सहकारीको दर्ता र खारेजीको अधिकार भएपनि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उहाँको भनाई छ ।
तुलसीपुर-६ का निवर्तमान अध्यक्ष नवराज लामीछानेले बालबालिकालाई कुपोषणबाट बचाउन सहकारीले आवश्यक रणनीति बनाउन सकिने बताउनुभयो । संस्थाका सल्लाहकार यमप्रसाद खरालले सदस्यले ऋण भन्दा पनि बचत गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखाका मनोज रिजालले वचतलाई परिचालन गरेर सहकारी चल्ने भएकाले यसमा सदस्य र संचालक समिति सचेत हुनुपर्ने बताउनुभयो । शेयर सदस्य नोखी रावत र नारायण कुमार आचार्यले सहकारीले जीवनयापनमा सहजता बनाएको बताउनुभयो ।
त्यस अवसरमा जेष्ठ नागरिक तुलसीराम गुप्ता र माया आचार्यलाई सम्मान गरिएको छ । असल ऋणी आशा नेपाली, असल वचतकर्ता सीता महतारा, शेयर सदस्यका छोराछोरीमा कक्षा १२ उत्कृष्ट अंक ल्याउने सदिक्षा पौडेललाई सम्मान गरिएको छ ।
विस २०६४ सालमा स्थापना भएको सहकारीमा ४ सय ७१ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका सचिव भिमलाल मरासीनीले प्रगति प्रतिवेदन पेश गर्नुभएको हो भने कोषाध्यक्ष पदम कुमार ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कोषाध्य ज्ञवालीका अनुसार सहकारीमा हाल शेयर पुँजी ८८ लाख ७२ हजार ५ सय पुगेको छ ।
यस्तै वचत संकलनतर्फ १ करोड ६५ लाख ४ हजार ४२९ रहेको र कर्जा २ करोड १९ लाख ८५० रहेको कोषाध्यक्ष ज्ञवालीले बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव भिमलाल मरासीनीले गर्नुभएको हो ।


