
दाङ । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने दुर्घटनामा करिब ३० जना घाइते भएका छन् ।
कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिजर्भ गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ती सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा बस दुर्घटना भएको हो ।