
तुलसीपुर ।
मानव सेवा आश्रमले बुधबार ११ वर्ष पुरा गरेको छ । सडक आश्रित मानवलाई नाना, छाना र खाना प्रदान गर्न स्थापना भएको आश्रमले ११ औँ वर्ष पुरा गरी १२ औँ वर्षमा प्रवेश गरेको हो ।
पाँच जना सडक आश्रित मानवलाई सेवा दिएर शुरू आश्रम सात प्रदेशका १९ जिल्लामा २३ वटा शाखामार्फत सेवा दिईरहेको दाङ शाखा प्रमुख हिरू जोशीले बताउनुभयो ।
उहाँका अनुसार देशभरका आश्रममा अहिले १ हजार ६०० बेसहारा मानवले आश्रय लिईरहेका छन् । यसैबिच ११ औं वार्षिकोत्सबको अवसरमा दाङ शाखाले बुधबार साँझ दिप प्रज्वलन गरेको छ ।
आश्रममा आश्रय लिनुभएका अर्जुन गिरीले पानसमा बत्ती बालेर वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभएको हो । दाङ शाखा तुलसीपुरमा अहिले महिला २४ जना, पुरुष ३६ , १ जना बालिका र २ जना बालकले आश्रय लिइरहेका छन् ।
वार्षिकोत्सव अवसरमा आयोजना गरिएको कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, समाजसेवी ऋषिराज भण्डारी , डिलाइट कर्नरका सिइओ मोहन भण्डारी लगायतले हरेक नागरिकलाई घर रहने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण आश्रमका दाङ शाखा प्रमुख हिरु जोशीले गर्नुभएको हो ।