वस्तीखोलामा वर्षौँपछि विद्युत पुग्यो  


दाङ ।
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ को वस्तिखोलामा पहिलो पटक विद्युत पुगेको छ । गाउँपालिकाको उज्यालो अभियान अन्तगर्त विकट वस्ती वस्तीखोलामा पहिलो पटक विद्युत पुगेको हो । 

गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बुधबार वस्तीखोला निवासी एवं कार्यपालिका सदस्य पार्वती घर्तीको घरमा विद्युतको स्विच थिचेर उद्घाटन गर्नुभएको हो । विद्युतको उद्घाटन गर्दै उहाँले उज्यालो गाउँपालिकाको अभियान सार्थक बन्दै गएको बताउनुभयो । 

उहाँले निर्वाचनका समयमा गरेका प्रतिवद्धता विस्तारै पुरा हुने क्रममा रहेको भन्दै वषौँदेखि उज्यालोका लागि टुकी र सोलारको भर पर्नुपर्ने बाध्यतामा रहेका वस्तीखोलाका नागरिकलाई विद्युत पुर्‍याउन सफल भएको बताउनुभयो । 

उहाँले आफ्नै कार्यकालमा पालिकालाई उज्यालो पालिका बनाउने पनि बताउनुभयो । 

यसअघि पनि वडा नम्बर ३ कै केराघारी र हल्देका करिब १४६ घरमा विद्युत विस्तार गरिसकेको गाउँपालिकाले बुधबार वस्तीखोलामा विस्तार गर्न सफल भएको हो । 

आर्थिक वर्ष ०७६/०७७ देखि विद्युत विस्तारको काम अघि बढेपनि काम पुरा हुन नसकेकोले पछिल्लो एक वर्षको अवधिमा कामले तिब्रता पाउँदा वस्तीखोलामा पनि विद्युत विस्तार गर्न सफल भएको वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार अहिले तत्काल ८० घरमा विद्युत विस्तार हुने र क्रमश अन्य वस्तीमा पनि विस्तार गरिने भएको छ । 

अब लगत्तै एकराते र स्विकोटका करिब १३० घरमा विद्युत विस्तारको काम अघि बढ्ने उहाँले बताउनुभयो । यसका लागि दुई वटै वस्तीमा विद्युत विस्तारका लागि करिब ५५ पोल आवश्यक पर्ने वडा अध्यक्ष केसीले बताउनुभयो । 

वस्तीखोलामा विद्युत विस्तार भएसंगै स्थानीय खुशी भएका छन् । विद्युत विस्तार भएपछि उज्यालोसंगै मोवाईल चार्ज गर्न, टेलिभिजन हेर्न लगायतका काममा सहज भएको स्थानीय एवं कार्यपालिका सदस्य घर्तीले बताउनुभयो । 

वडा अध्यक्ष केसीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव हेम प्रसाद भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस