छिल्लीकोटमा साहसिक खेल प्याराग्लाइडिङको परीक्षण

बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा प्याराग्लाइडिङ परीक्षण गरिएको छ । साहसिक खेलकारुपमा रहेको जीप लाइन निर्माणधीन अवस्थामै रहेको छिल्लीकोटमा अर्को साहसिक खेल प्याराग्लाइडिंगको सफल परीक्षण गरिएको छ । ऐतिहासिक,धार्मिक एवम पर्यटकीय स्थल छिल्लीकोटको गुरुदेवी पैयाटाकुरा र छिल्लीकोट दरबार क्षेत्रको पहाडबाट आइतबार र सोमबार प्याराग्लाइडिङ परीक्षण गरिएको हो ।

परीक्षण गरेका पाइलट कृष्णबहादुर क्षत्रीले छिल्लीकोटको क्षेत्र भौगोलिक र वातावरणीय हिसाबले उपयुक्त क्षेत्र रहेको प्रतिक्रिया दिए । उनले व्यवसायीकरुपमा उडान भर्नका लागि पहाडमा उडानस्थल बनाउनुपर्ने बताए।

परीक्षण गर्नका लागि आवश्यक व्यवस्थापन गरेका युवामध्येका एक युवा बाबुराम घिमिरेले परीक्षण सफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर व्यवसायीरुपमा दर्ता गरिने बताए ।

उनले प्याराग्लाइडिङ उडानपछि भिक्री सक्राम, स्यालापानी खोला किनार र श्रीचौरमा अवतरण गरिएको हुँदा ती ठाउँहरूका जग्गा दर्ता प्रक्रियाका लागि सम्बन्धित निकायसँग प्रस्ताव राखिने बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले परीक्षण उडानका लागि अनुमति दिएको बताए । उनले परीक्षण सफल भएसँगै त्यहाँको साहसिक खेल पर्यटनमा वृद्धि हुने अपेक्षा लिएको बताए । वडाध्यक्ष योगीले व्यवसायीरुपमा उडान गर्नका लागि आवश्यक सहयोग गरिने बताए । वडाध्यक्ष योगीले त्यस क्षेत्रमा जीप लाइन समेत निर्माणको अन्तिम चरणमा पुगेको र प्याराग्लाइडिङ परीक्षण सफल भएपछि पर्यापर्यटनको क्षेत्रमा नयाँ उर्जा थपिएको बताए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि त्यहाँको सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको उडानमा प्रतिबन्ध लगाइएपछि त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएका युवा समूहले नयाँ ठाउँको खोजीअन्तर्गत छिल्लीकोटमा परीक्षण उडान गरेको हो । बाबुराम घिमिरेले पोखरामा एउटा उडानको लागि यात्रुले १२ हजारसम्म तिर्नुपर्ने भए पनि दाङमा पहिलो सुरूआत भएको हुँदा त्योभन्दा कम शुल्कमा उडान गर्न सकिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले साहसिक उडान परीक्षणका लागि पालिकाबाटै अनुमति र राजश्व समेत तिर्नुपर्ने बताए। उनले विगतमा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ थर्कोट डाँडामा परीक्षण गरेतापनि हालसम्म परीक्षण गर्ने समूहले व्यवसायीरुपमा नआएको बताए ।

https://fb.watch/mJvxB8KG9z/?mibextid=Nif5oz

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस