दाङ ।
सस्तो र वातावरणमैत्री भएका कारण नेपालमा पनि विद्युतीय गाडीको प्रयोग गर्ने बढ्दै गएका छन् । नीजि मात्र नभइ सार्वजनिक रूपमा बिजुली गाडीको प्रयोग गर्ने क्रम बढेको छ ।
प्रयोगकर्ताको सुविधालाई ध्यानमा राख्दै पूर्वपश्चिम राजमार्ग स्थित दाङको लमहीमा विद्युतीय सवारी साधनका लागि चार्ज गर्ने व्यवस्था मिलाइएपछि सजिलो भएको छ । दाङमा साना ठूला गरी झण्डै ३ दर्जन विद्युतीय गाडी सञ्चालनमा रहेका छन् ।
लमही नगरपालिकामा २ वटा चार्जिङ स्टेसन बनेपछि ती गाडीका चालकलाई मात्र नभइ दाङ हुँदै यात्रा गर्ने अन्य विद्युतीय सवारीका चालकलाई पनि सजिलो भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका यी दुई स्टेशनमा एक पटकमा ६ वटा गाडी चार्ज गर्न सकिने छ ।
डिजेल, पेट्रोलको खपत घटाउन र बिजुलीको खपत बढाउन चार्जिङ स्टेशन निर्माणलाई प्राथमिकता दिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो ।
अहिले बसपार्कमा अस्थायी रुपमा बनाइएको चार्जिङ स्टेशनसहित अब स्थायी संरचना बनाइने छ । यसका लागि लमही नगर विकास समितिले जग्गा उपलब्ध गराउने तयारी गरिरहेको लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले बताउनुभयो ।
चार्जिङ स्टेशनमा छिटो फास्ट हुने प्रणाली जडान गरिएको छ । चार्ज गर्न मिल्ने ६०/६० किलोवाट र २२ किलोवाटका दुई गण राखिएकाले एक घण्टामै गाडी पूरा चार्ज हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इन्जिनियर विवशराज आचार्यले बताउनुभयो ।