पानीमा डुबेर दुई सय बढीको मृत्यु

दाङ । 

दाङमा पानीमा डुबेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । दाङमा पानीमा डुबेर दुई सय बढीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार ४९ महिनाको अवधिमा पानीमा डुबेर २ सय ३३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले आर्थिक वर्ष ०७५/०७६ देखि चालुवर्षको साउन महिनासम्म ४९ महिनाको अवधिमा जिल्ला दुई सय ३३ जनाको मृत्यु भएको बताउनुभयो ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा ३२ जना, आर्थिक वर्ष ०७६/७७ मा ४७, आर्थिक वर्ष ०७७/७८ मा ५० जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष ०७८/७९ मा ५१ जना, आर्थिक वर्ष ०७९/८० मा ४८ जना र चालु आर्थिक वर्षको साउन महिनामा मात्रै पाँचजनाको मृत्यु भएको छ ।

पछिल्लो वर्षहरूमा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ । मानवीय लापरबाहीले गर्दा नै घटनाहरू बढ्दो रहेको प्रमुख गौतमले बताउनुभयो ।

अभिभावकहरूले छोराछोरीको निगरानी नगर्दा पनि कतिपय बालबालिकाको पानीमा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस