पहुँचका भरमा कृषिमा अनुदान नदिने- कृषि मन्त्री

दाङ, लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले पहुँचका भरमा कृषिमा अनुदान नदिने बताए ।

बुधबार दाङको बिजौरीमा पर्यावरणीय दिगो  विकास एवं अनुसन्धान केन्द्रको अर्गानिक कृषि कार्यक्रम बजेट सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले भने,‘ विगतका दिनहरूमा पहुँचका भरमा कसैले अनुदान लिएको होला । अहिलेको सरकारले त्यसरी अनुदान दिँदैन । हामीले वास्तविक किसान त्यो पनि सहकारी वा समुहलाई मात्र दिने योजना बनाएको छौँ ।

पहुँचको भरमा अनुदान दिँदा त्यो सदुपयोग भएको देखिएन् । वास्तविक किसानले नपाउने जोसँग पहुँच छ । त्यसले पाउने  अवस्था थियो । अब त्यो अन्त्य भएको छ । ’ यस्तै उनले  प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रका थुप्रै  कुराहरू समेटिएको भन्दै मुक्त कमैया, कम्लहरी, लोपउन्मुख जाति तथा सीमान्तकृत समुदायको प्रगति र उन्नतिको लागि थुप्रै किसिमका योजनाहरू रहेको समेत बताए ।  

यस्तै उनले स्थानीय स्तरमा उत्पादन  भएका  बस्तुलाई बजारिकरण   गर्न ध्यान दिनु पर्ने समेत बताए । उनले भने,‘ हाम्रा पुर्खाहरूले पहिला रासायनिक मल प्रयोग नगरेर उत्पादन धेरै गर्ने गरेका थिए । तर, अहिले रासायनिक मलबाट धेरै उत्पादन हुन्छ, भनेर त्यही प्रयोग गरेर हाम्रो स्वास्थ्यमा असर पुग्ने गरेको छ ।

अब अर्गानिक खेती गर्नतर्फ सबै लागौँ । ’  उनका अनुसार अहिले  परम्परागत कृषि पेशालाई बिर्सिएर अरुको पछि दौडिएका छौँ । राम्रो कामको लागि प्रतिस्पर्धा गर्न उनले आग्रह गर्दै प्रदेश सरकारले लोकल मदिरालाई पनि ब्रान्डिङ  बजारिकरण गर्नको  लागि  योजना बनाएको भन्दै त्यसबाट सरकारलाई पनि राजश्वमा फाइदा हुने र नागरिकहरूको जीवनस्तर माथि उठ्ने बताए । 

यस्तै उनले  लोप हुन लागेका रैथाने बालीहरूको संरक्षण गर्नको लागि प्रदेश सरकारले बजेट छुट्टाएको  समेत उनले बताए ।  बजेट  एक/एक जनालाई दिन नसक्ने भएकाले समुह सहकारी मार्फत दिने समेत बताए । उनले प्रदेश सरकारले  कृषि क्षेत्रको बजेट कृषि ज्ञान केन्द्रमा पठाएको भन्दै  ज्ञान केन्द्रसँग  समन्वय गर्न आग्रह गरे । 

यसैगरी उनले कुनै पनि समस्या भएमा मन्त्रालयमा वा स्थानीय सरकारसँग समन्वय गर्न समेत आग्रह गरेका छन् । उनले व्यक्ति भन्दा पनि समूहगत रुपमा आउन समेत आग्रह गरेका छन् । व्यक्ति ब्यक्तिले गर्दा भने जस्तो नहुने भन्दै उनले समूहगत रुपमा आएमा राम्रो हुने समेत बताए ।  यस्तै प्रदेशमा पहिला स्मार्ट कृषि कार्यक्रम लागू भएको भएयता पनि त्यो सोचे जस्तो सफल नभएको हुँदा अहिलेको सरकारले त्यसलाई हटाएको समेत बताए । त्यो कार्यक्रम अन्तर्गत रहेका तर, पुरा नभएका योजनाहरूलाई मात्र निरन्तरता दिएको र  बाँकी त्यो कार्यक्रम नै हटाएको उनको भनाइ छ । 

यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले उपमहानगरका किसानहरूलाई अर्गानिक खेतीका बारेमा जानकारी गराउन थालेको बताइन् । उनले आउँदो वर्षदेखि उपमहानगरले किसान परियोजना कार्यक्रम ल्याउने बताइन् ।  

अहिले रासायनिक बस्तुहरू प्रयोग गरेर उत्पादन गरेका बस्तुहरू  खाँदा मृगौला, क्यान्सरका  बिरामीहरू  बढेको भन्दै उनले अब किसानहरूलाई अर्गानिक खेती गर्ने कार्यमा फोकस दिनु पर्ने समेत बताइन् । 


कार्यक्रममा तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगी, कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धिताल,  बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष  रेश्मीराज खड्का  र बुद्धिजीवी डिल्लीराज अधिकारी लगायतकाले मन्तव्य राखेका थिए । 

केन्द्रलाई संयुक्त राष्ट्र संघीय विश्व वातावरण कोषको साना अनुदान कार्यक्रम अन्तर्गत ४८ लाख , कम्युनिटीबाट एक लाख र  संघीय, प्रदेश  र स्थानीय सरकारबाट ३६ लाख २० हजार गरी जम्मा ९४ लाख २० हजार बजेट आएको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिए ।  आएको त्यो बजेट अर्गानिक खेतका लागि  विभिन्न कार्यक्रमहरू गर्ने समेत उनको भनाइ छ ।

उनका अनुसार तरकारी, आलुका स्थानीय प्रजातिहरू  प्रर्वद्धन गर्न जैविक खेती गर्ने,  ठुलो क्षेत्रमा अर्गानिक खेती गर्न एउटा बिउ बैंक स्थापना गर्ने ,लक्षित किसानलाई तरकारीको बिउ खरिद, भण्डार गर्ने, जैविक मल बनाउन साना खाडलहरू तयार गर्न लगायतका कार्यक्रमहरू रहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस