
दाङ ।
दाङमा अपहरण गरि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताउनुभयो ।
डिएसपी गौतमका अनुसार गत आइतवार राति विकलाई अपहरण गरी रा १ ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्याएको थियो ।
त्यहाँ उहालाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । डीएसपी गौतमले पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको बताउनुभयो ।