टरिगाउँ विमानस्थल वरपरका जग्गा काराेबार गर्न नपाउँदा स्थानीयलाई समस्या 


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँमा रहेको विमानस्थल आसपासमा जग्गा किनबेच गर्न नपाउँदा स्थानीयबासीलाई समस्या भएको छ ।

 विमानस्थलको संरचना नजिकैको बस्तीसम्म विस्तार हुने हल्ला चल्न थालेपछि यो क्षेत्रमा जग्गा किनबेच र बैङ्किङ कारोबार ठप्प भएको छ । 

राजनीतिक दल र उम्मेदवारले सँधै चुनावी नारा बनाउने यो विमानस्थलको अवस्था भने फेरिन सकेको छैन । झण्डै ४ सय घरपरिवार रहेको एयरपोर्ट टोलका बासिन्दाले विमानस्थल विस्तारको काम थालिहाल्न अन्यथा कारोबारको लागि बाटो खुल्ला गरिदिन माग गरेका छन् । 

तुलसीपुर उपमहानगरले भने विमानस्थल विस्तारको विषय टुङ्ग्याउनुपर्ने बताउँदै आएको छ । सङ्घीय सरकार र नागरिक उड्ययन प्राधिकरणले नचाहेसम्म यो समस्या समाधान नहुने भए पनि स्थानीय सरकारले सहयोगी भुमिका खेल्ने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । 

विमानस्थलको ४ किलोमिटर वरपर घरलगायत कुनै संरचना बनाउन पाइँदैन । टरिगाउँ विमानस्थल विस्तार भए यहाँका नागरिकलाई अर्को ठाउँमा स्थानान्तरण गरिने टरिगाउँ विमानस्थलका निमित्त प्रमुख सन्तोष अधिकारीले जानकारी  दिनुभयो ।


 टरिगाउँ विमानस्थलमा अहिले १८ सिटे विमानमार्फत हप्तामा तीन वटा उडान भइरहेको छ । 

प्रभावित क्षेत्रका बासिन्दाको व्यवस्थापन गरी ७२ सिटे जहाज उडाउन मिल्ने गरी विमानस्थल विस्तारको प्रक्रिया सुरु गर्न र विमानस्थल विस्तार नगर्ने भए घर जग्गाको कारोबार खुला गरिदिन स्थानीयबासिन्दाको माग छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस