मा.वि कालाखोलाकाे नयाँ भवन शिलन्यास

दाङ ।

तुलसीपुर ७ कालाखोलामा रहेको मा.वि. कालाखोलामा आठ कोठे पक्कि भवनको शिलन्यास गरिएको छ । 

आज आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाको विशिष्ट आतिथ्यतामा भवनको शिलन्यास गरिएको हो । 

छायाँ नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत साझेदारी गरी कुल एक करोड ५३ लाखको लागतमा भवन बन्न लागेको छायाँ नेपालका कार्यकारी निर्देशक थापाले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा छायाँ नेपालले नै लिएको छ ।  सम्झौताको मितिले १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु गरीएको हो । 

नयाँ बन्ने भवन अपाङगमैत्री, आधुनिक शौचालय तथा आइटि प्रोभिजन सुविधा सहित निर्माण गरीने थापाले जानकारी दिनुभयो ।

सोहि विद्यालयमा यसअघि छायाँ नेपालले अपाङगमैत्री भवन निर्माण गरी हस्तान्तरण गरेपछि अपाङगता भएका विद्यार्थीहरुलाई अध्यापन गराउँदै आइएको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ का वडा अध्यक्ष राम बहादुर जीसीले नयाँ भवन बनेपछि विद्यार्थीहरुलाई पढ्न सहज हुने बताउनुभयो ।

वडामा मा.वि. तहकाे विद्यालय एउटा मात्रै रहेकोले यसलाई भौतिक संरचनासंगै गुणस्तरीय शिक्षाका लागी स्थानिय सरकार तयार रहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जोगेन्द्र विश्वकर्मा, केशरी प्रसाद अधिकारी, निवृत्त शिक्षक श्यामलाल पोखरेल, समाजसेवि एकराज ढकाल, जगत थापा, विद्यालयका प्रधानाध्यापक राजीव ओझालगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक छवि न्यौपानेले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस