
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका ४ का धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई पक्राउ गरिएको हो । पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन् । तर, उनीहरूले नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी बिभिन्न व्यक्तिहरू सँग चन्दा मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । परियारको साथमा पत्रकार परिचयपत्र समेत थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसी सँग दस लाख, सल्यानको कालिका माविका शिक्षक वामदेव अधिकारीसँग ५ लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर तुलसीपुर १८ बेलझुण्डी का जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोबाइल सन्देश पठाउने गरेका थिए । उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एकराज मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । उनले चिठी दिएपछि पनि पटक पटक फोन गरेर तनाव दिने गरेका थिए ।

नेपाली प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौं, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङबाट सहितको सहयोगमा उक्त घटना बाहिर आएको हो ।