दाङ ।
दाङमा बितेको आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ६ सय बढी सवारी चालकलाई कारबाही गरिएको छ ।
२०७९ साउनदेखि २०८० असार मसान्तसम्ममा १२ महिनाको अवधिमा मापसे गरी सवारी चलाउने १ हजार ६ सय १६ जना चालकलाई कारबाही गरिएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव ६४ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा मापसे गर्ने १ हजार १०२ जना चालक कारबाही परेकोमा बितेको आर्थिक वर्षमा बढेर १ हजार ६ सय १६ पुगेको हो । प्रहरीका अनुसार गत आर्थिक वर्षको साउनमा ८०, भदौमा १२०, असोजमा १०३ सवारी चालकलाई कारबाही गरिएको छ ।
यस्तै कार्तिकमा मापसे गर्ने १५३, मंसिरमा १३२, पुसमा १३१, माघमा १३६, फागुनमा १४३, चैतमा १२५, बैशाखमा १३८, जेठमा २११, असारमा १४४ जना सवारी चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
बितको आर्थिक वर्षमा मापसे गरी सवारी चलाउनेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । प्रहरीको तथ्र्याक अनुसार बितेको आर्थिक वर्षमा मापसे गरेर मोटरसाइकल चलाउने १ हजार १६४ जना मोटरसाइकल चालक कार्बाहीमा परेका छन् ।
मापसे गरेका मोटरसाइकल चालकबाट ११ लाख ७४ हजार राजश्व संकलन भएको छ । मोटरसाइकल पछि मापसे गरी सवारी चलाउनेमा अटो चालक धेरै देखिएका छन् ।
बितेको आर्थिक वर्षको अवधिमा मापसे गरी अटो चलाउने २ सय ३४ जना अटो चालकलाई कारबाही गरिएको छ । मापसे गरी अटो चलाउनेबाट २ लाख ३५ हजार राजश्व संकलन भएको छ ।
यस्तै मापसे गरी चलाउने ९३ जिप/कार चालक कारबाहीमा पर्दा ९४ हजार राजश्व संकलन भएको छ । यसैगरी मापसे गरी टेक्टर चलाउने ६२ टेक्टर चालकबाट ६२ हजार राजश्व संकलन गरिएको छ । यस्तै ४७ ट्रक चालकबाट ४७ हजार र १६ बस चालकबाट १६ हजार राजश्व संकलन भएको छ ।