रोल्पा । रोल्पाका स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् ।
आर्थिक विकासको मूल आधार कृषि भएको भन्दै कृषिमा जोड दिने भएका हुन् ।
पालिकाले कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका हुन् । पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति दिनेदेखि पैठारी कर छुट गर्नेसम्मका योजना तथा कार्यक्रम अघि सारेका छन् ।
रुन्टीगढी गाउँपालिकाले सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने निर्णय गरेको छ । कृषकका लागि अनुदान तथा कृषि बीमा गर्ने नीति पनि अवलम्बन गरेको छ । गाउँपालिका अन्तर्गत उत्पादन भएका कृषि उपजमा लगाएको पैठारी कर खारेज गरी निःशुल्क बनाइएको छ । तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ ।
यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करको रूपमा तरकारी कर बुझाउँदै आएका थिए । आम्दानीको मुख्य स्रोतका रूपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाएको कर गाउँपालिकाले नलिने निर्णय गरेको छ ।
तरकारी खेती गर्ने कृषक आफ्नो पेसाप्रति अझै उत्साहित होउन् भनेर गाउँपालिकाले उनीहरूबाट लिँदै आएको स्थानीय कर हटाएको छ । यहाँ उत्पादित तरकारी दाङको घोराही, तुल्सीपुर, बुटवल, नेपालगन्जलगायतका सहरमा जाने गर्दछ ।
रोल्पा नगरपालिकाले पशुपक्षीपालन र कृषिमा लगानी वढाउँदै अण्डा, मासु, तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम अगाडि बढाउने कार्यक्रम अघि सारेको छ ।