अब टिकटकमा अक्षर मात्र लेखेर पनि पोष्ट गर्न पाइने

काठमाडौं । पछिल्लो समयमा अत्यन्तै लोकप्रिय तथा भाइरल भिडियो स्ट्रिमिङ एपको रुपमा रहेको टिकटकमा अब टेक्स्ट अर्थात् अक्षरहरु मात्रै पनि पोस्ट गर्न सकिने भएको छ । सोसल मिडिया प्लाटफर्महरुबीच चर्किरहेको प्रतिस्पर्धाका बीच टिकटकले अब भिडियो वा फोटो विना अक्षरमात्रैका पोस्ट पनि गर्न सकिने सुविधा ल्याएको हो ।

अब टिकटक प्रयोगकर्ताले टिकटकमा कुनै सामाग्री पोस्ट गर्न चाहँदा तिनवटा विकल्प प्राप्त गर्नेछन् । जसमा फोटो, भिडियो वा टेक्स्टमध्ये एउटा विकल्प रोज्न पाइनेछ । साथै प्रयोगकर्ताले आफ्नो पोस्टमा आवाज, लोकेसन वा डुएट समेत थप गरी पोस्टलाई कस्टमाइज पनि गर्न सक्नेछन् ।

टिकटकका अनुसार यी फिचरले टेक्स्ट मात्रैका पोस्टलाई पनि भिडियो वा फोटोको पोस्टजस्तै अन्तरक्रियात्मक तथा डाइनामिक बनाउने ट्वीटरले दाबी गरेको छ । चिनिया कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले हालै ब्राजिल र इण्डोनेसियामा टिकटक म्युजिक नामक नयाँ म्युजिक स्ट्रिमिंग सर्भिस लञ्च गरेको थियो । गतहप्ता मात्रै यो सेवाको बिटा भर्सनलाई सिंगापुर, मेक्सिको र अष्ट्रेलियामा समेत लञ्च गरिएको छ ।

सन् २०२१ मा सर्वाधिक धेरै प्रयोग गरिने प्लाटफर्मको रुपमा गुगललाई पछि पार्दै टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन गन्तव्य बन्न सफल भएको थियो । सोही वर्ष टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको थियो ।

पछिल्लो समयमा फेसबुकको मातृ कम्पनी मेटा र एक्सको रुपमा रिब्रान्डिंग गरिएको ट्वीटरबीच तिव्र प्रतिस्पर्धा चर्किएको छ । मेटा कम्पनीले ट्वीटरजस्तै थ्रेड्स नामक एपलाई विश्वका एक सयभन्दा धेरै देशमा सुरु गरेसँगै त्यो सर्वाधिक छिटो १० करोड पटक डाउनलोड हुने एप बनेको छ । मेटा सिइओ मार्क जुकरबर्गका अनुसार ५ दिनमै थ्रेड्सका प्रयोगकर्ताको संख्या १० करोड नाघेको थियो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस