एकैपटक ११ सचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले एकैपटक ११ जना सचिवहरुको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को श्रावण ३ गतेको बैठकले सचिवहरू गोकर्णमणि दुवाडी, दामोदर रेग्मी, सुरेश अधिकारी, भरतराज सुवेदी, तोयाम राय, मधुसुदन बुर्लाकोटी, सूर्यमणि गौतम, रामकृष्ण सुवेदी, डा गोपि खनाल, मुकुन्द निरौला र रविलाल पन्थको सरुवा गर्ने निर्णय गरेको हो । उनीहरू हाल प्रदेश, आयोग र मन्त्रालयहरुमा कार्यरत छन् ।

हाल निर्वाचन आयोगमा रहेका सचिव दुवाडीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयका सचिव रेग्मीलाई सार्वजनिक खरिद अुगमन कार्यालय पठाइएको छ । आयोगको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सचिव गौतमलाई दिइएको छ ।

बागमती प्रदेशका प्रमुख सचिव निरौलाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाएका छन् भने गण्डकीका प्रमुख सचिव पन्थलाई युवा तथा खेलखुद मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव डा खनालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

सचिव सुवेदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ भने हालका सचिव अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयका रामकृष्ण सुवेदीको वित्त आयोगमा सरुवा भएको छ । बुर्लाकोटीलाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ भने तोयम रायलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस